Tuesday, March 22, 2016

कबिता :- रङ्ग !!!






युवायुवती जोडी
बुढाबुढी रबालबच्चा
देशलाई माथिबाट हेर्न
एकचोटीलाई कष्ट भुल्न
अन्तरिक्ष झैँ डुल्न
पुग्ने प्यारो स्थल
भूकम्प पछी
हुलहरु बीच निस्सासिएर
कक्रक्क परेको
धुलो धुलो भत्केको घर
उजाड हरियाली
निथ्रुक्क आकाशे झरीले भिजेको
मेरो त्यो ठाम
होलिका रङ्गले पोती फेरी उस्तै भयो त ?
कत्रो दुखले अर्जेको
पुर्खाको निशानी बोकेको
हाम्रा हजुरबाको नी बा को पालामा
भीमसेन थापाले बनाएको
त्यो बढेमानको भवन
टुप्पो हेर्न खोज्दा टोपी खस्ने
अनि देशको नै शान बोकेर
अजंग र सम्मानित
उक्त धरहरा !
होलिका रङ्गले पोती फेरी उस्तै भयो त ?
आफ्ना बुढेसकालको साहरा
जवान छोराछोरी, बालबच्चा
निमिट्यान्न गरी कालले लग्दा
गोठमा गाईबस्तु मर्दा
बर्षौको कमाइले तयार गरेको
त्यो हाम्रो घर ढल्दा
बुढा बाजे र बजैको
मेटिएका सपना
होलिका रङ्गले पोती फेरी उस्तै जीवन्त भयो त ?
बिदेशी छोरालाई
छिट्टै घर फर्कन आग्रह गर्दै
खुशी बाड्न आतिएका ति
बा- आमाले पुरिनु पर्दा
छोराछोरी लास भेटि
मुर्छा परी रुंदा
भूकम्पले छोपेका अधुरा चाह
होलिका रङ्गले पोती फेरी उस्तै खुशी ल्यायो त ?
स्कुल पढ्ने छोराछोरी
अधुरा र अपुरा ज्ञानले
खाट टेवल र कुर्शी मै
मरेका भेंटीदा
शिक्षा र जीवन शैलीको
फराकिलो अन्तरले
डाक्टर पाइलट बनाउने
सपना पलभरमै खरानी हुँदा
गला अबरुद्द गर्दै
छोराछोरीको खोजीका लागि
चिच्चाहट गरेका परिवारको
उही सन्तति गुम्दाको दुख
होलिका रङ्गले पोती फेरी खुशी हुन् भन्यो त ?
ति सुनुवारनी बजैलाई
इनार कुवामा
पानी नभर है भन्ने
छुवाछुतको दलदलमा फसेका
माथिल्ला जात भन्नेका
काला सोचमा
सबैलाई समान देख्ने
एउटा स्वेत रङ्ग
होलिका रङ्गले पोती सबै समान बताई गयो त ?

यदी त्यसो होइन भने
मलाई केहि लिनु छैन
मलाई केहि दिनु छैन
म त यतिकै ठिक छु
मलाई रङ्गमा घोलिनु छैन
मलाई फागु'मा रंगिनु छैन |
म कुर्नेछु त्यो दिन
नेपाल उस्तै बन्नेछ
धरहरा उठ्ने छ
बाजे बजैको खुशी अट्ने घर हुनेछ
बिदेशिएका र परिवारको भेट हुनेछ
सन्तति सुख हर परिवारले पाउनेछ
पानी मात्र नभई हरेकको एकै भान्सा लाइनेछ
अनि म दलुला जिउभरी रङ्ग
नाचूँला ' आयो होलि ' सबै-सङ्ग |
@प्रेममोती ! २२ मार्च २०१६
बि. स. २०७२ चैत्र ०९

See more on Facebook Poem .. 

https://www.facebook.com/pralhad.dahal1/posts/1024127564332599?notif_t=like

No comments:

Post a Comment

"Thank you" For your time.