Friday, September 11, 2015

आमालाई खुला पत्र !

मिती :- २०७२ भदौ २६ गते |






यिनी पनि त 'आमा हुन् ' कसैको,,,, 'आमा ' म नरोई यो तस्विर हेर्न सक्छु होला र ?
यिनी आन्दोलनकारी हुन् रे आमा ?
यिनी देशद्रोही हुन् रे आमा ?
आमा ! आमा ! आमा !

भोलि तिमीलाई नी गोलि हानेर कसैले यसरी नै मार्यो र तिम्रो फोटो, "

एकजना महिला आन्दोलनकारी मारिएकि छिन " भन्दै breaking news बनेर न आउला म भन्न सक्दिन ?




                                               तस्विर :-  अमित झा




                आदरणीय आमा ! दर्शन ढोग गर्दछु |  परदेशमा रहेपनि देशमा भएका हरेक घटना, तथा बिबिध समाचार र खोजको नियमित श्रोता, श्रब्य दर्शक छु | देशमा के हुन्छ ! सेकेन्ड सेकेन्ड मा अपडेट हुने अनलाइन सोर्स बाट म थाहा पाइरहेको हुन्छु | विदेश बसेको छोरो, यत्रो पांचबर्ष विदेश बस्दा  कुनै पत्र लेखेनौ तर आज एक्कासी पत्र लेखेको देखेर त्यसै अतालिनु भो होला |! विदेशबाट चिठ्ठी आयो भन्ने बित्तिकै तपाइको मनमा झसक्क चिसो पस्यो होला आमा ! कतै मेरो माइलो छोरा !!!....... ए भगवान ! मनमनै यसरी पुकार्नु पनि भयो होला | लौन ! के लेखेछ छोराले, लौ त पढ नानी ' प्रमिषा ' ! दाइका छोरीलाई भन्दा, ऊ पनि पत्र खोल्ने बित्तिकै रुन थाली होला | रुँदै हजुर आमा ! अंकल ले त कस्तो तस्विर राखेर पत्र लेख्नुभएको छ, मलाई त डर लाग्यो भनि र तपाई नी हेरेर, मन थाम्न नसकी रुनु भयो होला ! आमा ! तपाईलाई रुवाउने मेरो विचार होइन तर आज, हजारौ निर्दोष जनता यसरी नै मारिएका छन ' झन ! हिजोअस्ति ' यी महिला , जो कसैकी 'आमा ' कसैको अर्धांगिनी, कसैको हजुर आमा ! अनि एक नेपाली मारिएकि  फोटो सहित हेडलाइन बनेर news आयो |

प्रमिशा ! के लेखेको छ, छिटो पढ न भन्नुभयो होला ! एक हातले आँशु पुछ्दै त अर्को हातले पत्र तर्फ इशारा गर्दै |



           म क्षमा माग्दछु आमा ! बिना सम्बोधन पत्रमा सुरुमै यस्तो विभत्स हत्या भएकि महिलाको तस्विर राखेर
, म त भावनामा बहकिएर के के लेख्न थालेछु | तर आमा ! ' तपाईलाई चोट पुराउनु मेरो धोको होइन, यस्तै रैछ जिन्दगी नी, लेखेरैछ जिन्दगीमा नसोचेको हुन ' | आमा !

आमा ! तस्विर हेरे ! म निकै बेर रोए ... ' अंह ! छोरा मान्छे भएर रुनु हुन्न ' भनेर तिमीले प्राथमिक बिद्यालय पढ्दा नै सम्झाएको र अब म कहिले रुन्न भनी, मैले तपाईलाई गरेको बाचा ! आज मैले पुरा गर्न सकिन | म निकै बेर एक कुनामा रोइरहे, मेरो आँशु भेल रोकिएनन, | आमा ! मलाई माफ गर्दिनु ! म तपाइको आज्ञाकारी छोरा हुन सकिन, आज मैले बाचा तोडे |   र अन्तमा मैले तपाइलाई दिएको बाचा ! पुरागर्न नसकेको म फोनमा भन्न नसक्ने भए | यति धेरै कुरा गर्नु छ कि ! म फोनमा बोलेर मात्र यो सबै भन्न सक्दिन |


                आमा ! तपाईलाई त टिभीले जे देखायो ! देशमा त्यति मात्र भएको छ होला लाग्दो हो |
त्यो लाग्नु सामान्य हो ! र मलाई पनि सानो छँदा देखि, ५२ देखि ५८, ६० सालमा माओबादी र सरकार पक्षमा यति मारिए, .... सरकारले आतंकारीलाई परास्त गर्यो | .. आतंककारी पुलिसको कब्जामा ...  मुडभेटमा आतंककारी तर्फ एक दर्जन मारिए ... यस्तै हेडलाइन हेर्ने र देशमा भएको खबर राख्ने बानी थियो | आमा ! तपाईलाई पनि आज यी सरकारी तथा निजि टिभी ले त्यही नै देखाएको छन | यथार्थमा के भएको छ त ! हामि इन्टरनेट पहुँच भएका छोराछोरी लाई मात्र थाहा हुन्छ | हामी रुन्छौ ! कोहि स्वदेशका सुगम ठाउँमा रहेर यो सब देखेर रुन्छौ ! कोहि बिदेशका माटोमा बसी इन्टरनेटमा आउने मिनेट मिनेटको यस्तो हृदय विदारक समाचार र तस्विर हेर्दै रुने गर्दछौ |

           आमा ! भदौ को सुरुवातमै तराईका जिल्लामा रहेका मधेसी नेता तथा तिनको पार्टीले आन्दोलन गर्ने घोषणा गरे | र आन्दोलन गर्दै रहे, त्यसको एक हप्तामा उपेन्द्र यादव, .. झा  र धनीराम चौधरी नेताले आन्दोलनकारी मारिएमा हामि पचास लाख दिन्छौ भन्दै घरमा भएको खुंडा तरवार र घरेलु हातहतियार सहित आन्दोलनमा जान व्हिप जारि गरे | उनीहरुले देशलाई छ प्रदेशमा बाँडेर थारु लाई छुट्टै राज्य नदिएको र अखण्ड सुदुर पश्चिम, र थारुहट राज्य माग राख्दै आन्दोलन गर्न सुरु गरेका थिए |  जब घरेलु हतियार लिएर आन्दोलनमा जानु र मारिएको आन्दोलनकारिको परिवारलाई ५० लाख दिने भन्ने सुने ! हाम्रा सोझा तराईवासी दाजुभाई लोभिए, तिनलाई आफ्नो ज्यान भन्दा, यो महंगीमा ५० लाख रकम ठुलो लाग्यो | पक्कै नी ! नेपालमा खान लाउन र बस्नको लागि दिनरात किशानी र भरि बोक्ने भरिया , माछा मार्दै छाक टार्न पर्ने माझी दाइका लागि यो पैसा नभएर यो त समुन्द्रमा पाइने मोती (pearl) थियो | जसको सपना देखेर उनीहरु आफैंलाई बिर्सिन पुगे |


              भोलिपल्ट भाद्र ८ गते ! एउटा विभत्स घटना भो, जुन घटना नेपाली इतिहासमा लेखिने छ, नेपालमा पहिलोचोटी पेट्रोल खनाएर बीच सडकमा बर्दीधारी पुलिसलाई सयौ, हजारौ मान्छे साक्षी राखी तड्पाई तड्पाई मारियो |  जिउंदै जल्दा तिनको हाल के भयो होला ! म त्यो कल्पना पनि गर्न सक्दिन आमा | हो त्यो दिन, कालो दिन रह्यो मेरी आमा ! एसएसपी लक्ष्मण न्यौपाने सहित एक दर्जन प्रहरी र एक नाबालक को हत्या भयो र यो खबर ले सबै नेपाली लाई मर्माहत बनायो | यसरि दिन दहाडे बीच सडकमा प्रहरी र नाबालक मारिए निर्मम तरिकाबाट | जसले गर्दा हामि सब जातजाति, भेषी, अनि फरक भाषा र धर्मका एक भएर बस्दै विश्वमा चिनिएको, बहुधार्मिक, बहुलैंगिक, महुजातीय र भद्र नेपाली भन्दै चिनियेर आएको कुरालाई खलबल पुरायो |
भातृत्व, सदभाब र भाइचारा ' का लागि हामि सदैब अरुको लागि मोडल थियौ | भारत, पाकिस्तान, चिन, य्सियाली, युरोपेली, अमेरिकन, अरब र अन्य प्रान्तका सबै मानिसले , हाम्रो भाइचारा, सद्भाव, र भातृत्व को तारिफ गर्दै, आफुले नी त्यो अबलम्बन गर्न चाहेको बताइरहेको थिए | यो घटनाले तिनलाई नेपाल हेर्ने नजर बदलीदियो |  यो समाचार त हजुरले नी सुन्नु भयो, देख्नु भयो होला | त्यो दिन, तपाई पनि रुनु भयो होला , तर म रोएको थिइन आमा ! किनकी ! म रुन खोज्दै गर्दा तपाईलाई ' म अब कहिले रुन्न ' भनेर गरेको बाचा याद आएको थियो |


             आमा ! टिकापुर कैलाली घटना भयो | त्यसबाट जति हताहत भए त्यो सेलाउन नपाउँदै सरकारले सेना परिचालन गर्यो |  जो आन्दोलनको अगुवा थिए, उनीहरु आन्दोलनमा घुसपैठ भयो | हामीले शान्तिपूर्ण आन्दोलनको आव्हान गरेका थियौ भन्दै  ' पानी माथिको ओभानो ' निक्लिए | र पनि सरकारले कारबाही गर्छ भन्ने पत्तो पाउने बित्तिकै ' आन्दोलनका मुख्य नाइके ' धनीराम चौधरी ' भागेर इण्डिया मा लुक्न सफल भए |
तर त्यो घटना गराएको मा न त उपेन्द्र यादब, न परमानन्द झा, न चौधरी न कुनै मधेशी, वा थारु नेताले आत्मालोचना र क्षमा मागे | झन उनीहरु सिंह झैँ गर्जे | उनीहरुको आन्दोलन शान्तिपूर्ण थियो, पहिले सेनाले दमन गर्न खोज्यो र घटना घट्यो रे | वाह !!!!!!!

   ए शुशील कोइराला जी ! ए बामदेव जी ! .... आहा ! तपाईहरु पनि एक कुशल कलाकार हुनु भयो है , जसको अबफाह फैलाउने र आन्दोलनका क्रेममा मारिएमा ५० लाख दिन्छौ भन्ने भनाइले त्यत्रो विभत्स हत्या भो, कारवाही गर्न सक्नु भएन | थुईक्क !!! लाचार सरकार | यसरी मुक;दर्शक बनेर के जनतालाई शान्ति सुरक्षा र अमन चैयन दिलाउन सक्नुहोला त | आमा ! यी सरकारमा बसेका पनि यी सबै घटनाका दोषी हुन् |
मूल दोषी त हामि हौ आमा ! मूल दोषी हामि | देशमा यस्ता क्रुर घटना, हत्या, अपराध र अशान्ति हुँदा नी मुक;दर्शक बनेर हेरिरहेका छौ | अंह ! म असल नागरिक होइन आमा |


त्यति मात्र भएन आमा ! भदौ ८ बाट झन बढ्दै गयो, हत्या र हिंसा अनि झापामा गोलि हानेर अर्को मारिए जनता | त्यसपछि रौतहटमा अर्को मारिए, अर्का चितवनमा मारिए, र अझ कोहि काठमाण्डौ को बौध्दमा मारिए | अरु आन्दोलनको क्रममा मारिए तर बौध्दमा त बिना आन्दोलन पनि जनता बीच सडकमा मारियो भनेसी, स्पष्ट भयो कि देशको सुरक्षा ब्यबस्था कति नाजुक छ | देशको यो स्थितिको भागीदार आज हजारौ आमा भएका छन | आमा ! आज कुनै आमाको छोरा छोईन, कुनैको आज पति स्वर्गीय भए, कुनै आमाको एकमात्र भर्खरको  नाबालक मारियो र काँख बाँजो छ | आमा ! आज सम्म त्यस्ता धेरै आमाहरुको पति मर्नाले सिउँदो पुछिएको छ | आमा ! तिमी अझै नी भाग्यमानी छौ, किनकी आजसम्म नी तिम्रो शिर को सिउँदोले तिम्रो सुहाग को प्रतिनिधित्व गर्छ | आमा ! ति सत्र बर्षमै बिधवा भएकि प्रहरी जवानको श्रीमतीको हालत कस्तो छ होला है ... अनि ति आन्दोलनमा मारिएको पतिको लास समेत देख्न नपाई, आफ्नो सिन्दुर पुछ्दै सेता फरिया बेर्न पुगेकी थरुनी दिदीको हालत कस्तो होला ? अनि ति बालक जो बाबा ! पल्टनबाट घर आउनु हुन्छ र हामीलाई नयाँ कपडा, चकलेट र मिठाइ ल्याउनुहुन्छ भन्दै हेर्दै गरेका प्रहरी जवानका बालबालिका को आँखा थाक्यो होला है ? आमा !


            हिजोअस्ति मात्रै भारदाहमा सत्तरी बर्षको बृध्द, मेरो हजुरबुवा समानको मानिसलाई आन्दोलनकारी भन्दै मारियेछ | समाचार पढे र राम राम ! स्वर्ग was होस भन्दै प्राथना गरे | आमा ! तर ति हजुरबाको के दोष होला ? के तिनी सच्चा आन्दोलनकारी थिए त ? मलाई आजकाल पत्रपत्रिकाले असल र तथ्य समाचार सम्प्रेषण गर्छन भन्नेमा नी शंका लाग्छ | आमा !  ७० बर्ष भनेसी त, धर्मकर्म गर्ने र राम नाम जप्ने बेला, ति हजुरबुवा ज्कस्री आन्दोलनमा गए होलान र ? मेरो दिमाख निरन्तर ३६० डिग्रीमा घुमिनै रह्यो , तर केहि समाधान पाउन सकिन आमा ! म त आत्तिए, अब फेरी भोलि को मर्ने हो वा को मारिने हो, आन्दोलन कारिको नाममा वा प्रहरी र सरकार पक्षको नाममा |


            आमा ! जब आज मैले माथिको तस्विर देखे , म हिजो आतिएको मात्र थिए, आज मेरो होस् छैन, होस हवास, कता उड्यो, चैन त के भनुम , मलाई निन्द्रा नी लाग्ने छैन | म मात्र सोच्दै छु ! ति पनि त आमा हुन् नी कसैको | ति पनि त महिला हुन नी | अरुले जे भने नी, आन्दोलनकारी वा प्रहरी, सरकार पक्ष जे भनेर मानिस मारिए, वा हत्या गरिए पनि ति सबै नेपाली हुन नी | आमा ! के नंग काट्दा मासु दुख्छ भने, ति नेपाली मर्दा म नरोई बस्न सक्छु र ? के म नेपाली होइन ? के मेरो रगत रगतमा नेपाल बगेको छैन ? के म कुनै नाजाहेज बाउको कर्तुत हु ? के म विदेशीले आनुदान दिएको बिदेशीको भ्रूण हु ? कि म भारतीय हुँ ? कि म चाईनिज हुँ ? आमा ! तपाई आफैं भन्नुस म को हु ? हो नी आमा ! म तिम्रै सन्तान हुँ | यी सबै मारिएका नी तिम्रै सन्तान हुन | जसरी म तिम्रो सन्तान आमा, त्यसतै हिजो अस्ति, भाद्र ८ वा यसअघि , जहिले जो मारिए ति सबै नेपाली हुन | तर किन ? काठमान्डौ लाई मधेशी मर्दा दुखेको छैन ? किन पहाडलाई तराई वासी मर्दा दुखेको छैन ? अनि किन हिमाल, हिमाली नबोली तराईको आगो र रापमा जलेका नेपाली हेर्दै छौ ? के तिमीहरुको मन दुखेन ?
त्यसो भए भन ? के तिमी साँचीकै नेपाली हौ त ????????????


                आमा ! कति निर्दयी र क्रुर बन्दै छौ हामी ! कति धेरै  निर्दयी हुन थाल्यौ है ! भाद्र २५ गते नै एम्बुलेन्समा घाइते भएर उपचार गर्न लाँदै गरेका असई थमन बहादुर विक लाई एम्बुलेन्स बाट निकालेर मारियो | के हामीमा मानवता एक रति नी बाँकी छैन | यति क्रुर नेपाली हुनै सक्दैन | आमा ! तिमी संकोच नमान, म यी सबैको डी. एन.ए.  चेक गर्न माग गर्छु | के यिनीहरु नेपाली कै रगत हुन कि ISIL र भारतीय आतंकारी का भूलको परिणाम ? आमा ! मलाई तिमी माथि औंला उठाउने अधिकार छैन, हो नेपाल ' आमा ' र पनि म आज यी कपुत लाई नेपाली मान्न तयार छैन |  आफ्नै आँखामा धुलो पर्दा त रुन्छौ नी तिमी, यत्रा नेपाली, कहिले आन्दोलनकारी त कहिले प्रहरी भनेर  ' नेपाली ' नै मारिंदा किन रोयनौ ? तिनीहरु मरीरंहदा किन दुखेन ??? किन दुखेन  ????? भन किन दुखेन ??????


                 आमा ! तिमीले एउटा असल छोरा जन्माउन सकिनौ | आमा ! तिमी नेपाल आमा | अंह ! तिमीले एउटा कुशल राजनेता जन्माउन सकिनौ |  आमा ! तिमीले चाहेको जस्तो म, असल छोरा हुन नसकेको कुरा म बताउन लाग्दा निकै सर्मित भएको छु | लाजले मेरो शिर झुकेको छ | आज म बिर गोर्खालीको छोरा भनेर आफ्नो गर्वले शिर उठाउन सकेको छैन | आमा ! तिमीले हिशिला, बिद्या, रामकुमारी, शुशील, प्रचण्ड, केपी, बाराभ, माधब, कमल, रामशरण,.. झा, यादब, बैद्य, चौधरी, गगन, प्रकाशमान, लालु, धेरै धेरै नेता जन्मायौ  | तर नेपाल आमा ! तिमीले एउटा सपुत जन्माउन सकिनौ ! अंह ! तिमीले एउटा राज नेता ! असल छोरा, राष्ट्रसेवक र निस्वार्थी पुत्री वा पुत्र कोहि जन्माउन सकिनौ | तसर्थ आमा ! तिमी मै खोट देखियो |  नेपाल आमा तिमी मै खोट देखियो ........


                 आमा ! ओ मेरी आमा ! सुन्नुस न आमा !!!!! मलाई त डर लाग्दैछ, भोलिको हेडलाइन के बन्नेछ | आमा ! म लगायत यँहा बिदेशमा धेरै मानिस काम गर्दैछौ, अनि कति छोराछोरी बाउ-आमा छोडी, सहर र सुगम त कोहि कामको कारण दुर्गम जिल्लामा काम गर्दै छौ | आमा ! हामि सबलाई हर रात देखिने सपना देखि डर लाग्छ ! हो आमा ! मलाई डर लाग्छ ! यी सपनाहरु निकै खतरनाक लाग्छ | म त नसुती रात कटाउन खोज्छु | आमा ! म तिम्रै पिरले, यो १२ घन्टे लामो रात नसुती बिताउन गइरहेको छु | किनकी ! म भोलिको news हेडलाइन देखि तर्सिएको छु आमा |


               आमा ! त्यो भोलिको न्युज हेडलाइन के हुनेछ, मलाई निकै त्रसित बनाईरहेको छ | यसरी लगातार दिनदिनै कहिले को, कहिले को मरीरहेको र मारिएको छ | मलाई निकै डर लागेको छ आमा ! माथिको तस्विर मेरो लागि ठुलो ठुलो झापड हो | म नेपाली भएर नी यत्रा दाजुभाई, दिदीबहिनी, आमा, बुवा , यी नेपाली मर्दा नी म किन चुप छु ? अंह ! आज म चुप रहन सक्दिन | आमा ! यी माथिको तस्विर ले सोधिरहेको छ ' के म नेपाली हु ? के मलाई दुखेन ? नेपपालि मर्दा नेपाली नरुने, त्यस्तो नी नेपाली हुन्छ ? " यी प्रश्न भन्दा ठुलो प्रश्न त्यो खडा भईरहेको छ यो मनमा ' यदी मेरी आमालाई यसरी मारिएको भए , म के गर्थे ? '



       हो आमा ! म भोलिको news पेपर मा तिम्रो तस्विर हेडलाइन बनेको हेर्न चाहन्न ? यो तस्वीरले मलाई मेरो आमा र यसमा फरक नरहेको बताईरहेछ | हो ! हामी नेपाली ले हत्या र हिंसाको खुलेर बिरोध मात्र गरेको तर सरोकारवाला लाई दिन नसकेको दबाब को चित्रण मनमा तयार गरेको छ | आमा ! मैले अति नै माया गर्ने तिमी ' आमा'को  भोलि कसैले यस्तो निर्वर हत्या गर्छ कि म त्रसित छु आमा | म निकै डराईरहेको छु |



               ए ! नेता माथिको तस्विर हेर ! ति महिला तिम्रो आमा भएको भए ... ति तिम्री श्रीमती भएको भए ... ति आफ्नै छोरी भएको भए ..... अनि ति तिम्रो भाउजु, बुहारी भएको भए नी .... तिमी आन्दोलन जाहेज छ भन्दै बस्थ्यौ त ????? आन्दोलन गर्नेलाई वार्तामा आउन र सरकारलाई लचिलो गराउन कम्मर कस्ने थियानौ त ? एकपटक फेरी राम्ररी हेर | ति महिलाको विभत्स हत्या भएको तस्विर ,,. तिमीहरु ,..हिशिला, बिद्या, रामकुमारी, शुशील, प्रचण्ड, केपी, बाराभ, माधब, कमल, रामशरण,.. झा, यादब, बैद्य, चौधरी, गगन, प्रकाशमान, लालु, धेरै धेरै नेता ... तिनी कसैकी आमा हुन् ? के तिनको मृत्यु तिमीलाई दुखेन | ...

आमा ! तिमीलाई लेखेको प्रश्नमा , म नेतालाई समेट्न चाहन्थीन तर नसमेटी नी भएन, यिनले बालेको आगो, निभाउन यिनैले अब प्रयास गरेमात्र सम्भब छ | आमा ! आफ्नो ख्याल गर्नु, म जस्तै सबै छोराछोरी तपाई ' आमा ' को पिर चिन्ता गरिरहेका छौ |


         फेरी पनि पछी अर्को पत्र लेख्ने नै छु  |


Pralhad Dahal ( @प्रेम मोती ) 

No comments:

Post a Comment

"Thank you" For your time.