Monday, November 16, 2015

छोराको दैनिकी ( कवि रुप रसाइली )


विज्ञान पढ्यो
अनियमित वस्तुको आयतन नाप्यो
बेलुन उडायो, स्याउ खसाल्यो
सिद्धान्तहरू रेटेर लाल्टिन निभायो
गणित पढ्यो
SIN COS TAN ले भित्ता रंगायो
lXbXh तन्काउँदै हिंड्यो
मुनाफा र नाफाले कापी सिध्यायो
अंग्रेजी पढ्यो
Past, Present, Future च्यातेर
I N G, WILL, र Yes/No Question घोक्यो
सेक्सपियर, रोवर्ट अब्राहम चिन्ये
तिनैलाई दशैंको बारेमा निबन्ध लेख्यो
अंग्रेजी कविता परररररर पढ्छ, सुनाउँछ दिनदिनै
सामाजिक शिक्षा पढ्यो
जात, धर्म, वर्ण, क्षेत्र छुट्यायो
मेल-मिलाप, बिकास र कर्तव्य बुझ्यो
सिमाना रक्षार्थ
सिसाकलमले मोटा घर्काहरू कोर्यो।
जनसंख्या र वातारण पढ्यो
जन्म, मृत्यु र आयु जाँच्यो
सहभागिता
पारदर्शिता
विश्वसनियता
र जवाफदेहिता बोक्यो।
इतिहास पढ्यो
नझुकेको शिर नेपालीको भन्थ्यो
भगाएको रे इष्ट इन्डिज कम्पनिलाई नेपालीले
१९५० सुगौली सन्धी दोहोर्याएर हेर्यो
लिच्छवी, मल्ल, राणा, शाह लोकतन्त्र निफन्यो।
स्वास्थ्य पढ्यो
लिंगको लम्बाइ नाप्यो
अण्डकोश काम लेख्यो
मुटुको नक्शा कोर्यो
योनिको चित्र कोरेर एक्लै हाँस्यो


अस्पतालबाट कण्डम चोरेर भाग्यो
जहाँ,
सित्तैमा पाइन्छ लेखिएको हुन्छ र पनि।
मेरो छोरो
नेपालमा जन्मिएको हो
दैनिक नेपाली बोल्छ
जिब्रो लठ्ठाएर
हो,
उस्ले नेपाली पनि पढ्छ चस्मा लगाएर
विपिको गाह्रो शब्दहरू
लेखनाथको असजिला हरफहरू
सिद्धीचरणले भोगेका आगो र युग
माघव प्रसादको जोशिला राष्ट्र प्रेम
विवेचनात्मक उत्तर र ब्याकरण
जीवनी र कविको कविता
ट लाई शुद्ध त लेख्यो
त लाई सँधै ट बोल्यो
प्रवेशिका परिक्षामा उस्को नतिजा
सबैको भन्दा धेरै
सबैको भन्दा राम्रो
सबैको भन्दा जाति
आहा!
आमाले उस्लाई ठूलो मान्छे बनाउने सपना दिइन्।
तर यतिन्जेल
उस्ले आफु भित्र 'म' पढ्नै पाएन
नेपाली भएर 'नेपाल' पढ्नै पाएन
भोलिको लक्ष्य ठम्याउनै सकेन
आफू भित्रको क्षमता चिन्नै सकेन
के कुरा गर्नु यार......
यति बर्ष पढ्यो...पढ्यो
हाताँ केही इलम छैन।
अब ऊ
छाति फुलाउँछ हर सासमा
रंगशालामा दौडन्छ हर मिर्मिरेमा
भारत र बेलायतको लागि उभिन्छु भन्दै
प्रत्येक आइतबार
जिल्ला प्रशासन धाउँछ
राहदानीको सट्टा
'भोलि' सुनेर थाक्दैन
आकाशमा हेर्दै कल्पनामा पुग्छ
उसले पढेको भूगोलमा
कहिल्यै नघोकेको राजधानी
दोहा, रियाद, क्वालालम्पुर, कुवेत, मनामा दिल्ली, लण्डन, वासिंटन, सेउल र जेरुसेलम सम्झँदै
मनको जहाजमा सयर गर्छ एक फन्को।
बिडम्बना,
काम बन्दै बन्दैन कसै गरी
धिक्कार छ आफ्नै भाग्यलाई
भए जति पैसा
पढाईमा खर्च गरियो भनेर.......।
घुस दिन सकेको भए लाहुरे हुन्थ्यो
राहदानी बनाएको भए खाडि पुग्थ्यो
आफन्त भएको भए नोकरी मिल्थ्यो
के गर्नु
अब ऊ
जानेछ पुन: उही पूरानो विद्यालय
र सोध्नेछ खाली पिरेडमा
साना नानीहरूलाई
गाउँखाने कथा र चुट्किलाहरू
एउटा वेवारिसे गाउँ दिनेछन् सित्तैमा
नानीहरू रमाई रमाई।
- रूप रसाइली
16/11/2015

No comments:

Post a Comment

"Thank you" For your time.