२०७० माघ ३ गते रातिको समय लगभग ११ बजिसकेको थियो । म अस्पतालमा सदा झैँ बुवाको कुरुवा बसिरहेको छु। म जस्तै अरु पनि धेरै बिरामी कुरुवा छन, बुवाको दायाँबायाँ नै अन्य बिरामी छन । म कुरा गर्दै छु, नेपालको सबैभन्दा पुरानो "बिर अस्पताल" जुन चन्द्र शमसेरको पालामा बनेको थियो । बुवाको दायाँ , सडक दुर्घटना परेर खुट्टो गुमाउन पुगेका एक दाई थिए । उनी बाइक चलाउँदै गर्दा पछाडिबाट आएको भाडाको बसद्वारा ठक्कर दिएपछि सडकबाट तिन कान्ला मुनि पुगेर खुट्टा गुमाउँदै बाच्न सफल भए । अर्को बिरामी थिए बुवाको बायाँ तर्फ उनको भर्खरै बिहे भएको थियो ।
घरमा दाइजो ल्याउन सकिनस भन्दै सासु, ससुरा अनी पतिद्वारा निर्दयी रुपले पिटिएको र सिरमा खुकुरी प्रहार गरिएको थियो । छिमेकका अन्य महानुभाबले थाहा पाएर उनलाई अस्पताल लेराईदिएका थिए । उनलाई कुट्ने तीनजना नै आज प्रहरी हिरासतमा छन । तिनी महिला रुपमा सार्है राम्री छिन । तर उनको माईति गरिब थिए जसको सजाय उनले आज अस्पताल मा भोग्दै छिन । मेरो बुवा जो मुटुको बिरामी हुनुहुन्छ । आज एक महिना भयो हामीले काठमाडौँ को बिरअस्पताल भर्ना गरेको । उँहालाई अचानक हृदयघात भएछ । छिमेकी र आमा मिलेर तत्काल नजिकको सेती अंचल अस्पताल लाग्नु भएछ । बिहानको ५ बजेको थियो, मलाई घरबाट फोन आयो। फोनमा भन्नु भो तिम्रो बुवा नबाँच्ने जस्तो हुनुहुन्छ । मर्नु अघि तिम्रो मुख हेरेर मर्ने रे? म केहि सोच्नै सकिन र छाँगाबाट खसेजस्तो भए । तेस्तो हट्टाकट्टा मानिस हैन अचानक के भएछ ? कतै चुरोट धेरै पिउने बानी भएकाले स्वास प्रवासमा समस्या देखिएको होला । जे भए नी अब म काठमान्डौ छोडेर जानु पर्यो आज नै सोच आयो ।
काम गर्ने अफिसमा फोन गरे। "सर एस्तो अबस्था आईपर्यो, म घर जान्छु बुवालाई सन्चो भएसी एक हप्ता जतिमा फर्कन्छु भने ।"
उताबाट नी हुन्छ जाऊ भन्नु भो, साहुले ।
अस्ति मात्र तलब लिएको थिए तेसैले काम गरेको पैसा केहि दिनु भनेर पैसा माग्न जाने अबस्था थिएन । उनले पनि पैसा छ, छैन सोधेनन । पैसा लिएर जाऊ अलिकति नी भनेनन । अब म आफ्नो सामान प्याक गरेर कुम्लो बोकी बसमा हिंडे । बसमा १७ घण्टा यात्रा गर्दै सेती अंचल अस्पताल पुगे । बुवालाई आइसीयु मा राखिएको थियो र अबस्था एकदम नाजुक थियो । म तेंहा त पुगे तर बुवालाई बाहिर सिसाबाट नै हेरेर बसें! आमा तेंहा नै भगवानलाई पुकार्दै हुनुहुन्थ्यो । भर्खर पचास टेकेको मेरो श्रीमानलाई तिमी किन आफ्नो प्यारो बनाउन खोज्दैछौ। भगवान ! हे पशुपति नाथ जसरि नी मेरो श्रीमानलाई बचाउनुस । बुवाको जन्म २०२० सालमा भएको थियो । भारतको पटनामा जँहा मेरो हजुरबुवाले कुनै घरमा सेकुरिटी गार्डको काम गर्नुहुन्थ्यो र हजुरआमा पनि उता नै जानु भएको बेला बुवा भोज प्रसाद दाहालको जन्म भएको रहेछ । आज उँहालाई नै मृत्यु र जिबन बिचको दोसाँझमा देख्दा मेरो मन सिरिंग भएको थियो ।
केहि छिनमै डाक्टर साप आउनु भयो र भन्नु भो । :-"उँहाको मुटुको भल्ब फुटेको छ । तेसलाई हामी उपचार गर्न सक्दैनौ। तपैहरुले उंहालाई काठमाडौँ लाने ब्यबस्था गर्नुस। हामी उँहालाई होसमा ल्याउने कार्य सम्म गर्न सक्छौ तर दुई तिन दिनभित्र नै काठमाण्डौ रिफर गर्दिन्छौ । तेंहा येंहा भन्दा अनुभबी तथा सोहि मुटू सम्बन्धि चिकत्सकहरु छन जसले तपाइको बुवाको राम्रो उपचार गर्नसक्छन ।"
म :- "हामी गरिब परिवारका सदस्य हौँ डा.साप, जम्मा दुई बिगा जमिन मात्र छ । अनी घर घडेरी, यी सबै बेचेर नी नपुग्ने पो होला कि बुवाको उपचारमा, कुनै सरकारी राम्रो अस्पताल रिफर गर्दिनु होला ।
डा.साप:- "हुन्छ त ! म बिर अस्पताल नै रिफर गर्दिन्छु । त्यो नेपालको पुरानो अस्पताल हो र हरेक किसिमका विशेषज्ञ डाक्टरहरु पनि मिल्छन । यो मुटू सम्बन्धि पनि राम्रो उपचार गरिदिने छन ।"
म:- हुन्छ । डा. साप म गऊँको घर खेत बेचेर नी जसरि, जे गरेर हुन्छ, बुवाको उपचार गर्छु । हजुरहरु आफ्नो तर्फबाट प्रयास गर्नुस ।" भन्दै म गाउँतिर लागे । छिमेकका एक दाजुलाई बिरामी कुर्दिनु भन्दै आमा सहित हामी अंचल अस्पताल छोडी गाउँ लाग्यौ ।
तेस्को ३ दिनमा नै मात्र घरभएको घडेरी छोडेर घरखेत बेची हामी तेंहाको अंचल अस्पतालको एम्बुलेन्समा नै काठमाडौँ आयौ । काठमाण्डौ आउने बितिक्कै बुवालाई इमर्जेन्सीमा भर्ना गर्न भनियो र चाहिने पैसा डिपोजिट गर्न काउन्टर बाट भने, मैले केहि पैसा जम्मा गरें । मैले आफ्ना साथीभाई र चिनेका मान्छेलाई फोन गरि सोधे मुटू सम्बन्धि सबैभन्दा सस्तो र राम्रो उपचार कंहा हुन्छ । धेरैले भने नर्विक अस्पताल तर धेरै पैसा लाग्छ। तर म सँग तेती धेरै पैसा पनि त थिएन । मेरो आफ्नो हितैसी मित्रले भने प्राइभेट तिर नी बुझ यार । सरकारी अस्पतालमा खासै राम्रो उपचार गर्दैनन रे डाक्टरले घडी हेरेर काम गर्छन । बिरामीसँग नी राम्रो ब्यबहार गर्दैनन सुनेको छु मैले । उनका कुरा मुनासिब लाग्यो र मैले ओम अस्पताल चाबहिल गएर कुरा बुझ्ने प्रयास गरें । तर यंहा त उल्टो भयो, प्राइभेट का डा, साप म सँग झर्किंदै थिए । मैले तेन्हा कार्यरत एक बिशेषज्ञ डाक्टर "निउरो सर्जन डा. नबिश मान सिंह प्रधान" सँग कुरा गरें ।
जुन कुरा गर्न मैले राउण्डको १००० रुपियाँ तिर्दै प्रश्न गरें "डाक्टर साप हामी गरिब परिवारमा जन्मेका मानिस हामीसंग धेरै पैसा पनि छैन। मुटु सम्बन्धि बिरामीलाई उपचार गराउंदा कुनै छुट दिन मिल्छ कि हजुरको यो अस्पतालमा ।"
डा.साप झर्किंदै, ठुलो स्वरमा " तपाइलाई पैसा नभए किन नरसिंग होम मा बिरामी ल्याउनु पर्यो । सरकारी अस्पताल मा नै उपचार गराउनुस । छुट त सरकारी मा हुन्छ, जुन सरकारले दिएको अनुदानमा चल्छ ।येंहा हुन्न बुझ्नु भो ।"
म जुरुक्क उठे र हिंडे । लाग्यो अब मेरो निम्ति अन्तिम ठाम तेही नै बिर अस्पताल हो । तेंहा एक हप्ता बुवालाई आइसीयु मै राखेपछि हामीसंग भएको १५०, ००० पैसा सकिसकेको थियो । अझ औषधि किनेको पैसा जोड्दा त लगभग २,००, ००० नै सकिन आटेको थ्यो । अझ यसअघि नै डाक्टरले राम्ररी हिंडडुल गर्न त मुटुको भल्ब नै फेर्नुपर्छ । तेस्को लागि निकै ठुलो रकम लाग्ने बताईसकेका थिए । मैले डाक्टर साप सँग कुरा गरेर, बुवालाई साधारण वाडमा सर्दीनु हुन पहल गरें र भने हामी गरिब छौ । घरखेत बेचेर जम्मा एक बिगाको 1 लाख पचास हजार दरले ३ लाख पैसाले उपचार गरुं आएको भने । उँहा एक डाक्टर म जसको बयान गर्न कुनै शब्द देख्दिन । धेरै मिजासिलो स्वभाब अनी जे सोधे नी मिठो र मायालु स्वरमा जवाफ मिल्थ्यो । साएद ! उँहा जस्तो दोश्रो डाक्टर नेपालमा पाउन कठिन छ ।
उँहाले म प्रति सहानुभूति देखाउँदै कोमल स्वरमाभन्नुभो:-"बाबु, पिर नगर म पनि दुई छोराछोरीको बुवा हुँ । तिमी र मेरो छोरामा फरक देख्दिन, मैले सकेको सहयोग गर्छु । तिम्रो बुवाको स्थिति सुध्रिण छ । उँहालाई दिनहुँ डाइग्लोसिस गराउनु पर्छ र अक्सिजन नी बरोबर दिनुपर्ने हुन्छ । म सरकारी अनुदान पनि सकेसम्म मिलाउने छु यो उपचारमा ।"
मैले भने:-" धन्यबाद डा. साप हजुर हाम्रो लागि साँचीको भगवान हो । म ढुंगामा भगवान भेटिन्न भन्ने धरणा भएकोले साक्षात भगवान नै अघि पाएँ । तेती गर्दिनु भए निकै आभारी हुने थिए ।"
उँहा :- यो त मेरो कर्तब्य हो । बिरामी अनी बिरामी कुरुवाको मनोबल बढाउनु र निको पारेर खुशी हुँदै घर फिर्ता गर्नु । तिमी ढुक्क बन बाबु ।"
येती भन्दै डा,साप भित्र छिर्नुभयो । उंहाले उपचार गराउने तरिका मलाई निकै प्रभाबकारी लाग्थ्यो । अरुबाट नी सुने । "फलानो डाक्टर साप त निकै राम्रा मान्छे हुन । धेरै बिरामीलाई उपचार गराएर घर खुसीका साथ बिदा गरेका छन । मलाई नी उस्तै लाग्यो । येसरी नी लगभग २ हप्ता बित्यो । अर्को दिन त अर्कै डाक्टर आए, बुवाको स्वास्थ्य स्थिति चेकअप गर्न अनी उनको बोलि अलि रुखो थियो । हामी बिरामी कुरुवासंग बोल्न नी नरुचाउने र केहि समयमा नै बिरामी चेक गरि फर्कने गर्न थाले । येसरी ३ दिन पनि ति डाक्टर नआएपछी मलाई कौतुहलता लाग्यो र काउन्टर मा गएर सोधे । काउन्टरमा बस्ने एक केटीले भनिन:-" सरकारी अस्पताल हो, कुन डाक्टर कहिले आउने र कहिले जाने भन्ने थाहा हुन्न । तेसै नी सयौं डाक्टर दिनकै येंहाबाट परिवर्तन भएर जान्छन अर्को अस्पताल " भनिन ।
अहिलेको अबस्थामा तिनै डाक्टर मेरा सामु आए । जो भर्खर मेरो बुवाको उपचारमा लागेका चार दिन मात्र भएको थियो । उनी बोले "आज नै बिरामी येंहा बाट हटाइने बताए ! भोलि देखि हाम्रो सरकारी अस्पतालको अनिश्चित कालको लागि साधारण वाडमा बिरामी जाँच्ने कार्य बन्द गरिंदैछ । घर तिर लाने तयारी गर्नुस, १२ बजेसम्म तपाइले बिरामी लग्नुस ।"भने !
मैले सोधे डा.साप बुवालाई त अक्सिजन दिएरै राखिएको छ । अब घरमा लगेर हामी गरिबको घरमा कसरि अक्सिजन सहित राख्न सक्नु । येंहा नै राख्दा हुन्न र? सोधे ।
उनले बताए । भोलिबाट येंहा तपाइको बिरामी हेर्न कोहि नी डाक्टर आउन्नन । आन्दोलन हुँदै छ, घरमा लगेर नै राख्नुस। मैले लेख्देको औषधि लानु र अक्सिजन नछुटाई समयमै खान दिनु होला । येंहा नै राखे, तपाइको बुवालाई कसैले हेरचाह गर्ने छैनन । घरमा आमा हुनुहोला, उंहा र तपाई मिली राम्रो हेरचाह दिनु ।
त्यस राती नै १२ बजेर ३० मिनेटमा बुवा लिएर म जोरपाटी-६ नयाँ बस्ति मा आफ्नो कोठामा गए । घर लगेर आफुले जानेको र डाक्टरको भनाइ अनुसार नै हेरचाह गर्दै आमा र म थियौ । बुवाले हामीसंग छिन छिनमा ठिक ठिकै कुरा नी गर्नुहुन्थ्यो । जे होस ! औषधि अनी अक्सिजनको सिलिन्डरले उँहालाई बचाएको छ ।अब चांडो नै बुवा उठ्ने र हिंडडुल गर्ने हुनुहुन्छ झैँ मलाई लागेको थ्यो र आमा नी आशाबादी हुनुहुन्थ्यो । हामीले आफुले सकेसम्म बुवाको उपचारका लागि पहल गर्दैथ्यौ । त्यो दिन तेतिकै बित्यो र हामी सुत्यौ । बिहान पाँच बज्न लागेको थियो । आमा नुहाएर आई आइतबारका दिन सुर्य भगवानको पूजा आराधना गर्न थाल्नुभो र बुवाको दिर्घायुको कामना गर्दै हुनुहुन्थ्यो । मेरा नी आँखा खुले र अब नित्यकर्म तिर लागें। माघको महिना बाहिर धेरै चिसो थियो । तेसैले म आगो बल्न थाले र चिया पकाउन सुरु गरें । चियासिया आमा र म दुबैले ले खायौ र बुवालाई आमाले आफ्नै हातले खुवाउनु भयो। म बुवा तिर हेर्दै थिए । उँहाको अबस्था हिजो भन्दा आज अलि बिग्रेको महसुस भयो । आज डाक्टर नी छैनन र घरमा नै हामीले चाहे जस्तो उपचार सुबिधा पुराउन सकेका थियनौ र अर्को कुरा बुवालाई डाइग्लोसिस दिनहुँ गरिन्थ्यो तर आज त्यो भएको छैन । निजि अस्पतालमा लग्यो भने बिरामीलाई डाईरेक्ट आइसीयु मा रख्दिन्छ्न र सुरुमा नै दुई लाख धरौटी माग्छन । जुन म जस्तो एक आम गरिब जनता सँग छैन, घरखेत बेचेर ल्याएको पैसा नी सकी सकेको छ । म निरिह भएर आफैं बुवाको मुहार हेर्दै थिए । येसो विचार गरें । भोलि नै बन्द फिर्ता गरेर सरकारी अस्पताल खुलाए भने, म बुवालाई बिर अस्पताल लगेर फेरी उपचार सुचारु गर्छु । म आमासँग नी येस्तै कुरा गर्दै थिए, बुवाले रातको खाना खान इन्कार गर्दै हुनुहुन्थ्यो । आमाले निकै कहर गरेर ४, ५ चम्ची खित्रो खुवाऊनु भयो । तेस्पछी बुवा केहि खान मान्नु भएन ।
म सुतें अनी आमा नी सुत्नु भयो । म सुतेर १ बजे बिहान उठे र बुवालाई औषधि खुवाउन डाक्टरले दिनको चार चोटी ६,६ घन्टामा औषधि दिन भन्नु भएको थियो । जब म बुवा नजिक गए अनी बोलाए, बोल्नुभएन । फेरी भने "बुवा" अझै बोल्नु भएन र नजिक गएर हात छामे लौ कस्तो चिसो हिउँ परेजस्तै छ त बुवाको हात । फेरी बोलाए "बुवा" बोल्नु भएन र टाउको, हात, खुट्टा केहीमा नी हलचल आएन । जब म बुवाको टाउको उठाउन खोजे । ओहो के भयो लौन! बुवाले त जिब्रो टोकिसक्नु भएछ । रुँदै भने :- आमा "बुवा अब हामी माझ रहनु भएन । हामीलाई छोडेर जानु भो ।" आमा निस्सासिंदै दौडेर आउनु भयो । लौन बाबु के भयो तेरो बुवालाई हेर्न बाबु, किन बोल्नु हुन्न? ए प्रल्हाद का बुवा उठ्नुस न भनेको । हैन तपाइलाई अझै निन्द्राले छोडेन ?येस्तै अनगिन्ती प्रश्न गर्दै बुवाको टाउको आफ्नो काँखमा राखेर रुँदै हुनुहुन्थ्यो । म लाचार थिए । आमाको एस्तो अबस्था देखेर पनि केहि बोल्न सकिन, आमाका अनगिन्ती प्रश्न मेरा मनमा घोच्दै थिए ! एकछिनमा आमाको बोलि नी रोकिए, उँहाको आँखाबाट अश्रु धारा आँसु बग्न थाले । मैले ति आँसु आफ्ना हातले पुछ्दै भने अब पिर नगर्नुस आमा । हजुरको लागि म छु नी ! बुवाको आत्माले स्वर्गमा बास गरिसकेको छ । अब रोएर, कराएरअनी टाउको फोरेर केहि हुन्न। दैबको खेला, एकदिन सबैले मर्न पर्छ । पिर नगर्नु ! मलाई हेर्नुस । म अब हजुरको साहारा हुँ । आमालाई सम्झाउँदै गर्दा मेरा आँखाबाट नी आँसु खसिसकेका रैछन, जब ति मेरा ओठमा आइपुगे र चाल पाएँ।
आशाका किरणहरु मध्यान्हमा हराएपछि,
अगाडी बढ्दै गरेको पाईलाका डेग लर्खराएपछि ।
हिंडदै गरेको मानिस बिच बाटोमा ढलेपछि,
कंहा देखिन्थ्यो उज्यालो दिन,आंखाका ज्योति जलेपछि।
पूरा होऊन कसरि, देखेका ति सुन्दर सपना,
जब ज्यूँदो सरिर, मुढा बनी ढलेपछि ।
कसले माया गर्ने, म्वाई खाने त्यस शरीर,
दनदनी बलेको आगोमा घ्यू थप्दै पूर्ण सरिर बालेपछि ।
ति आँसु नखसुन नी कसरि मैले आफ्नो अभिभाबक अनी मेरो जिबनको पहिलो आदर्श व्यक्ति बुवा गुमाएको थिए। आफु अनपढ भएर नी मलाई पढाएर एती सम्म गराउन कति दिन भोको बस्नु भो । कति दिन, घामअनी [पानीमा रुझ्नु भो । मेरो पढाईका लागि खेत जोतेर, भारी बोकेर अनी मेलापात गरेर, एक एक सुको गरि हजारौं हजार लगानी गर्नुभो । जसको कारण ! आज म आफ्नो भावना कागजमा उतार्न सक्ने भएको छु । बुवाका अनगिन्ती म प्रति गर्नुभएको त्याग अनी धेरै बलिदानी हरु आँखामा छछल्कियेर पोखिएका नै ति मेरा आँसु थिए । मेरो एक मात्र साहारा बैशाखी जो मेरो हर काममा सहयोगी बनी पल्नुहुन्थ्यो, उँहालाई मैले आज गुमाएको छु ।
तस्बिर सौजन्य : hansaraj
मेरो मार्गदर्शक भन्नु एक मात्र पिता हुनुहुन्थ्यो । उँहालाई आगोको फिलिंगोमा परिणत गरेपछि मनमा हरेक प्रश्न उठ्न थाले ।
मेरो आमाको सिउँदोको सिन्दुर पुछिनुको कारण तिमी डाक्टरहरु होइनौ र ??
के मेरो बुवाको मृत्युको मुख्य कारण गरिबी नै हो त ??
के अब गरिबले बाच्न पाउने कुनै अधिकार छैन नेपालमा??
के यो संसार अब पैसामा मात्र बिक्न थालेको हो ??
के येंहा मानवता भएको मानिस कोहि भेटिन्न??
जब आफ्नो काँखमा कोहि मरेको देख्नुपर्छ तब के डाक्टरलाई भगवान मान्न सकिन्छ??
के मेरो पिताको मृत्युको दोष ति उपचार नसकी नै अस्पतालबाट निकाल्ने डाक्टरलाई दिनु पर्ने होइन र??
न आज बिर अस्पताल जस्तो सरकारी अस्पताल बन्द नगरिएको भए | म झैँ सन्तानले आफ्ना अभिभाबक गुमाउनु पर्ने दिन देखिने थिएन कि ??
के को लागि हो यो आन्दोलन ? गरिबलाई मार्ने आन्दोलन हो ??
किन हुन्छ, येंहा गरिबी नै मृत्युको मुख्य कारण ??
न मसंग प्रसस्त धन र पैसा भएर, बुवालाई नेपालकै महँगो नर्विक जस्तो अस्पतालमा भर्ना गरि उपचार गराएको भए। आज मेरा बुवा अनाहकमा मृत्युको शिकार बन्नु पर्थेन कि ??
किन गरिंदैन, बन्द अनी हड्ताल सहरमा महँगो क्लिनिक र नरसिंग होममा ???
के होला ! सरकारी अनी साधारण जनताको पहुँचमा रहेको अस्पताल बन्द गराउंदा हामी एक गरिब आम नेपालीको अबस्था ? कसैले एकचोटी विचार गरेको छ ।
जसरि नी गरिब अनी साधारण जनता मर्ने मात्र किन खेल हुन्छ, यो देश नेपालमा ??
के येही हो त सुशासन? के हेरेर बसेको छ जिम्मेवार निकाय ???
किन समातेर थुनामा राखिन्न देशमा बन्द हड्ताल अनी ज्यादती गर्नेलाई ??
छ तपाई सँग मेरा यी अनेकौ प्रश्नको जवाफ ???
उही जन्मदिने बाबु गुमाउन पुगेको एक आम नेपाली ।
"दुखी आत्मा" प्रल्हाद!!!
No comments:
Post a Comment
"Thank you" For your time.